प्रधानमन्त्री, पार्टी अध्यक्ष, सभामुख र मुख्यमन्त्रीकै क्षेत्रमा कांग्रेसले नेकपालाई हरायो

डिसी नेपाल
१५ मंसिर २०७६ ११:५४

काठमाडौं। हिजो भएको उपनिर्वाचनको परिणाम आउँदै गर्दा नेपाली कांग्रेसले धेरै ठाउँमा नेपाल कम्युनिष्ट पार्टीलाई विस्थापित गरेको छ । यसअघि नेकपा (तत्कालीन बाम गठबन्धन) ले चुनाव जितेका ठाउँमा यस पटक कांग्रेसले शानदार कमब्याक गरेको छ । भरतपुर, दाङ र भक्तपुर जिल्लामा यसअघि नेकपाका उम्मेदवार जनप्रतिनिधि रहेको र उनको निधनपछि निर्वाचन भएकोमा कांग्रेसले नतिजा उल्ट्याएको छ ।

भक्तपुर १ ‘ख’ मा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछाने सांसद थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णभक्त भँडेल विजयी भए । भरतपुर १६ मा यसअघि तत्कालीन एमालेका चतुरमान गुरुङ वडाध्यक्ष थिए ।

अहिले त्यहाँ कांग्रेसका अमृतराज हमालले चुनाव जिते । दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ मा पनि कांग्रेसका ताराबहादुर डाँडी निर्वाचित भए ।

भक्तपुर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । ओलीको निवास भत्तःपुरको बालकोटमा छ । यस्तै चितवनको भरतपुर १६ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । यहाँबाट दाहाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । यस्तै दाङको घोराही १६ पर्ने निर्वाचन क्षेत्रबाट प्रदेशसभामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधिसभामा निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *