हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो ओर्लिनुपर्छ : साझा पार्टी

डिसी नेपाल
१७ मंसिर २०७६ ६:११

काठमाडौँ । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ।

सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गरेका छन् ।

साथै मुलुक रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिकूलताका बाबजुद पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टीले आभार प्रकट गरेको छ।

आफ्ना गल्तीकमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ।

साझा पार्टीले छिटै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक सम्वादको अभियानमा लाग्ने तथा पार्टीका विचार, नीति र एजेन्डा जनता समक्ष प्रस्तुत र छलफल गर्ने विज्ञप्तिमार्फत जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *