‘कलाकारले मृत्युर्पयन्तको जीवनबारे पनि सोच्नुपर्छ’
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विजयी भएदेखि नै रमेश बिजी बिरामी भए। महाधिवेशनको दौडधुप र धपेडीले हुनुपर्छ, विजयीपछि उनको शरीरले रातदिन आराम खोज्यो। रुघाखोकी र ज्वरोका कारण केहीदिन आराम गरे।
अध्यक्षमा विजयी भएको ठ्याक्कै एक सातापछि आइतबारको चिसो बिहान ठमेलमा भेट्दा रमेश बिसन्चो नै देखिन्थे। रुघाले घाँटी बसिरहेको थियो, बेलाबेलामा खोक्दै पनि थिए। हाम्रो लगातारको फोन सम्पर्कपछि कुराकानीका लागि तयार भएका थिए, उनी।
गत मंसिर ६ गतेदेखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौं केन्द्रीय महाअधिवेशबाट रमेश अध्यक्षमा विजयी भएका हुन्। सोमबार मात्र नयाँ कार्यसमितिको पदस्थापना भयो। पदस्थापनसँगै प्रतिष्ठानको नेतृत्व रमेशले काँधमा आइपुगेको छ।
यो स्थानसम्म रमेश त्यसै आएका होइनन्। नेपाली लोक दोहोरीमा उनको योगदान उच्च छ नै, यो यात्रामा अभाव, दुःख कष्ट पनि उत्तिकै भोगेका छन्।
दुःखीको त मुखैमा गीत हुन्छ !
लोकगीतको उर्वरभूमि, स्याङजा। रमेश बिजी त्यहाँको एक निम्न वर्गीय परिवारमा जन्मिए। बुवाआमा खेतीकिसानी गर्ने। दुई दाजुभाइमा जेठा सन्तान, रमेश। अभावै–अभावमा बाल्यकाल बित्यो। ज्ञानी स्वभाव, पढाईमा उत्तिकै तीक्ष्ण बुद्धि– जसका कारण स्याङजा सदरमुकाममा छात्रवृत्तिमा बोर्डिङ स्कूल पढन पाए। एसएलसी सके, कलेज पनि छात्रवृत्तिमै पढ्न पाए।
घरको आर्थिक स्थितिका कारण कमाउनुपर्ने जिम्मेवारी पनि उनको काँधमा थियो। कमाइ र पढाइलाई व्यवस्थापन गर्ने क्रममा दैनिक समय तालिका नै बन्यो, –बिहान कलेज पढ्ने, दिउँसो स्कूल पढाउने, साँझ कोचिङ पढाएर परिवार चलाउने।
अहिले बजारमा बालगायिका कमला घिमिरेले गाएको –‘चिया छानेको’ गीत खुबै गुञ्जिरहेको छ।
जसमा एउटा लाइन छ :
सुशीलाई पो खुसी र जीत हुन्छ
दुःखीको त मुखैमा गीत हुन्छ
रमेशले आफ्नै विगतलाई सम्झेर यो गीत लेखेको बताउँछन्। एसएलसी पश्चात हो, उनले गीत–कविता लेख्न थालेको, गाउन थालेको। सुनाउँछन्, –‘एसएलसी पश्चात धेरै साथीहरु उच्च शिक्षा पढ्न काठमाडौं आए। म पारिवारिक समस्याका कारण आउन सकिन। अनि आफ्ना भावना गीत, कवितामार्फत ब्यक्त गर्न थालेँ।’
एसएलसीपश्चात दोहोरी प्रतियोगिताहरुमा भाग लिन थाले। स्याङजाका विभिन्न स्थानसँगै बाग्लुङ, पोखरा, बुटवलसम्म पुगेर लोकदोहोरीमा कयौंपटक प्रथम भएका छन् रमेश।
स्नातक पढ्दै गर्दा उनी काठमाडौं हानिए। बेलुका दोहोरी साँझमा काम गर्न थाले। बिहान–दिउँसो गीतसंगीतको कक्षाहरु लिन थाले। ती दिनको संघर्ष सम्झन्छन्, –‘ती दिनहरु निकै कठिन थिए नी! दोहोरी साँझमा रात्रीकालीन काम। सबैजना घर आउँदा आफू काममा हिँड्नुपर्ने। निद्रा लाग्ने।’
शुरुवाती दिनमा नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा लगायतको साथ र सहयोग सम्झन्छन् उनी।
रमेशलाई गीतकारका रुपमा चिनाउने पहिलो गीत बन्यो,– ‘लाइछौं बेसन’। २०६१/६२ सालतिर यो गीत सार्वजनिक भएसँगै अन्य गीतहरु क्रमशः हिट हुँदै गए। बिजीको ‘सुनपानीले छर्क मायालु’ले त नेपाली समाजमा सामाजिक क्रान्ती नै ल्यायो।
त्यस्तै रमेशले लेखेका ‘सररर पानी घट्टमा’, ‘रुन्छ नि मन किन रुदैन्’, ‘तीते करेलीले’, ‘देउरालीमा धजा’ इत्यादी गीत हिट छन्। लोकदोहोरी मात्र होइन्, सुगम संगीतमा पनि उनी सफल भए। रामकृष्ण ढकालको स्वरमा रहेको ‘म हुरीमा दियो’गीतलाई स्रोता/दर्शकले अत्याधिक रुचाए। त्यस्तै ‘म त हजुर’, ‘अब त नशा पनि पिउँदिन कि’ गीतलाई पनि स्रोता/दर्शकले रुचाए। यता फिल्मी गीतमा पनि रमेश सफल भए। ‘गोर्खापल्टन’को ‘सान्नानीले झुक्यायो मलाई’, ‘परदेशी’को ‘कालो बादल निलो आकाशमा’ इत्यादी रमेशका रुचाइएका फिल्मी गीत हुन्।
‘परदेशी’ फिल्मको कथा नै उनले लेखे। अहिले ‘परदेशी’को सिक्वेल पनि बन्दैछ। जसको काम भइरहेको उनी बताउँछन्। लोकदोहोरी, सुगम, फिल्मी गरी उनले १ हजार आसपास गीत लेखेको बताउँछन्। आफैप्रति सन्तुष्ट हुँदै भन्छन्, –‘जुन विधामा कलम चलाएँ। सन्तुष्ट महशुस गरेको छु।’
गीतकारका रुपमा सफल रमेश गायकका रुपमा किन अगाडि बढेनन्? उनी ठट्यौली शैलीमा जवाफ फकाउँछन्, –‘शुरुवातमा केही गीत गाएको छु। तर मेरो भन्दा अरुको मिठो स्वर सुनेपछि गाउन छाडेँ।’
लोकदोहोरीमा कलाभन्दा चर्तिकला बिक्यो
समय सान्दर्भिक भएर कलाकारहरु परिवर्तन हुनु नाजायज होइन। तर, लोकसंगीतका नाममा छाडापन भित्रियो। टिक्ने भन्दा विक्ने गीतहरु आउन थाले। ‘पछिल्लो समय लोकसंगीत चल्यो। सँगै केही मानिसहरुले यो क्षेत्रलाई प्रयोगशालाका रुपमा हेर्न थाले’ रमेश गुनासो गर्छन्, –‘यहाँ जे पनि प्रयोग गरिदिने। चले चलिहाल्यो नचले चल्दैन भन्दिने।’
त्यस्तो गर्दा पृथकताले केही गीतहरु हिट पनि भएको रमेश बताउँछन्। तर ती गीतहरुको आयु नुहने उनको दाबी छ। उनी लोकसंगीत संस्कार बोकेको संगीत भएकाले संस्कारलाई मास्न नहुने बताउँछन्।
उनी लोकगीतका नाममा छाडा गीत ल्याउनेलाई कला भन्दा चर्तिकलाको संज्ञा दिन्छन्। भन्छन्, –‘मानिसले जे सक्यो त्यति गर्ने हो। कला हुनेले कला देखाउँछ। नहुनेले चर्तिकला।’ यत्ति भन्दा उनी रोकिएनन्। निरन्तर बोलिरहे। अगाडि थपे, –‘पछिल्लो समय कलाभन्दा चर्तिकलामा मानिसको भीड आकर्षित भएको सत्य हो। तर, त्यो चर्तिकला भनेको भाइरल हो। त्यसको आयु लामो हुँदैन।’
उनले प्रश्न समेत गरे, –नारायणगोपाल, झलकमानहरु आजसम्म किन मरेका छैनन् ? उत्तर पनि आफै दिए,– किनकी उनीहरु हाम्रो हृदयमा बसेका छन्, मस्तिकमा बसेका छन्।
रमेशको दुई दशकको गीतसंगीत यात्रामा कति नयाँ कलाकार आए। कति पलायन भए। उनले देखेका पनि छन्, चर्चामा पुगेको कलाकार त्यो चर्चा सेलाउँदै गएपछि डिप्रेशनमा गएको, लागूऔषध सेवन तिर लागेको। यसको पछाडिको कारण कलाकारमा देखिने चर्चाको भोक भएको रमेशको बुझाई छ।
‘पछिल्लो समय हामी चर्चाको भोका भयौं। कर्म नगर्ने तर चर्चा खोज्ने। आएको भोलिपल्टै हिट हुनुपर्ने। एउटा गीतले चल्नुपर्ने। के गर्दा भाइरल भइन्छ भन्ने सोँच मात्र भयो’– उनी लोकसंगीत बजारको पछिल्लो ट्रेन्ड केलाउँछन्।
रमेश एउटा कलाकारले मृत्युपर्यन्तको जीवन बनाउनुपर्ने बताउँछन्। उनी भन्छन् –‘कलाकारले मृत्युपर्यन्तको जीवन पनि पहिल्यै बनाएर छोडिदिन सक्छ। जुन जीवन ऊ मृत्युपर्यन्त पनि बाँच्न सक्छ। त्यो जीवनका लागि हो भने हरेक कलाकार संयमित हुन जरुरी छ।’
आफैसँग चुनौती
स्थापनाकालदेखि नै प्रतिष्ठानमा आवद्ध छन् रमेश। सहसचिव, सचिव, महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षको कार्यभार सम्हाल्दै अहिले अध्यक्षको कुर्सीमा पुगेका छन्। रमेशले आफ्नो नेतृत्वलाई चुनौतीभन्दा अवसरका रुपमा हेरेका छन्। प्रतिष्ठानमा बलियो टिम आएको र सबैको साथ र सहयोगले नेपाली लोक संगीतको श्रीवृद्धि र कलाकारको हितका लागि तत्पर रहने बताउँछन्।
‘टीम राम्रो आएको छ। प्रतिष्ठानमा काम गर्नुभएका थुप्रै अनुभवी साथीहरु पनि हुनुहुन्छ। निर्वतमान तथा पूर्व अध्यक्षहरु पनि साथमा हुनुहुन्छ’ रमेश उत्साहित हुँदै भन्छन् –‘सबैको साथ र सपोर्टले अपूरा कामलाई पूरा गर्नेछु भने केही नयाँ योजनाहरु बनाएको छु।’
जवाफ दिइरहँदा उनी थप उत्साहित देखिए। अनुहारमा उत्साह प्रकट गर्दै आफ्ना योजनाहरु सुनाए। जुन उनकै शब्दमा :
– लोकदोहोरीमा सेन्सर बोर्डको कुरा धेरै पहिलेदेखि उठिरहेको छ। तर, राज्य स्तरबाट त्यो हुन सकिरहेको छैन। प्रतिष्ठानको तर्फबाट अब छिट्टै आन्तरिक सेन्सर बोर्ड शुरु गर्ने योजना बनाएका छौं। यो लागू गर्न सकियो भने हामी अन्तर्गतका सदस्यहरुले आफ्नो गीत प्रकाशन गर्नुअगाडि दोहोरी गीत प्रतिष्ठानमा दर्ता गरेर प्रमाणपत्र दिएपछि मात्र बजारमा आउनेछ। र त्यो गीत युट्युबमा गीत बज्नुअगाडि प्रतिष्ठानले दिएको प्रमाणपत्र देखिनेछ। यसमा सबै सकारात्मक हुनुहुन्छ। यसले लोकगीतमा देखिएको विकृतिलाई कम गर्न केही हदसम्म भूमिका खेल्नेछ।
–हामी कलाकारहरुको जीवन उमेर छँदा खाने, रमाउने हुन्छ। तर, अन्तिममा कठिन मृत्युवरण गर्नुपरेका थुप्रै उदाहरण छन्। अब हामीले कमाएर होइन बचाएर पनि आफूलाई सुरक्षित गर्नुपर्छ भने हेतुले संगीत बचत सहकारीको अवधारणा अगाडि सारेका छौं। त्यही भवनबाट त्यो पनि संचालन गर्छौ।
–प्रतिष्ठानको केन्द्रीय भवन त बन्यो, मेरो अर्को उद्देश्य छ। यही कार्यकालमा जिल्लामा प्रतिष्ठानको भवन निर्माणको थालनी शुरु गर्ने।
–प्रतिष्ठानको आफ्नै भवन बनेको छ। अब त्यो भवनभित्र नेपाली मौलिक बाजाहरुको संरक्षण गर्ने तयारी गरेका छौं। ताकि पछिल्लो पुस्ताहरुले मौलिक बाजाहरु चिनुन्।
– लगत्तै भवनमै बिहान र साँझ संगीतको प्रशिक्षण शुरु गर्ने तयारी छ।
–नेपाली मौलिक गीत संगीतको खोज, अनुसन्धान तथा संरक्षणमा यो टिम लाग्नेछ।
–नेपाली लोकसंगीतमा लागेको स्रष्टा समाजबाट प्रतिष्ठित नागरिकको दर्जा पाउन सकिरहेको छैनन्। हामीले सिंहदरबार भित्र छिर्न किन नागरिकता राख्नुपर्छ? त्यसबारे पनि सरकारसँग आवाज उठाउनेछौं।
–राज्यसँग जोडिएर देशका समस्यामा हातेमालो गर्दै अगाडि बढ्नेछौं।
योजना सुनाइसक्दा उनी केही गम्भीर पनि देखिएका थिए। गम्भीरताको कारण खुलाउँदै बोलिहाले, –‘यति धेरै सपनाहरु देखेको छु। पूरा गर्न सक्छु कि सक्दिन भन्ने आफैंभित्र भने कताकता चुनौती देखेको छु। तर, निरन्तर लोकसंगीत र यससंग सम्बन्धित स्रष्टाहरुको हितमा लागिरहनेछु।’
Facebook Comment