माउन्टेन गाइडको परिचयपत्र विवादबारे सराेकारवासँग छलफल

डिसी नेपाल
२७ पुष २०७८ १०:५८

काठमाडौं। नेपालका पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड)को समसमायिक समस्याबारे काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। लामो समयदेखि पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुले उठाइरहेका विषयमा पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान)ले सोमबार पर्यटन बोर्डको सभा हलमा एक अन्तरक्रिया कार्यक्रम राखेको हो।

छलफल र अन्तरक्रियाको मूल विषय हिमालमा कार्रयत श्रमिकहरुको समसमायिक विषयसहित परिचयपत्र विवाद रहेको आयोजकले बताएको छ। पर्वतारोहण सम्बन्धि तालिम दिने नेपालको एक मात्र संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को सिफारिसमा नेपाल सरकारको पर्यटन विभागले पर्वतीय पथप्रदर्शकहरूलाई २०७७ चैत १ गतेबाट परिचय–पत्र दिन सुरु गरेको थियो । त्यही क्रममा एक सय २० जनाले परिचय–पत्र पाइसकेका थिए भने तीन सय जनाभन्दा बढीले एनएमएबाट सिफारिस लिइसकेका छन् ।

यही बीचमा एनएमएको बुक भएका र संघको हरेक तालिमका प्रशिक्षक समेत रहेका ४३ जना बुक होल्डरले यसरी परिचयपत्र दिनु हुँदैन भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । पर्वतारोहणका लागि योग्य बुक होल्डर पथप्रदर्शकहरू अयोग्य भएको जिकिर गर्दै उनीहरूले मुद्दा दिएका हुन्। त्यसैले परिचय–पत्र वितरण कार्य रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएकाले विभागले वितरण कार्य बन्द गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा पर्यटन विभागका पर्वातारोहण शाखाका निर्देशक सूर्य प्रसाद उपाध्ययले लामो समय नेपालका पर्वतीय क्षेत्रमा कार्यरत मजदुरहरुको समस्यालाई विभागले गम्भीर ढंगले लिएको बताए । ‘पर्वतीय क्षेत्रमा कार्यरत सम्पूर्ण मजदुरहरुको सुरक्षा, पारिश्रमिक, इन्स्योरेन्स र उनीहरुको समस्यालाई मध्यनजर गर्दै विभागले काम गरिरहेको छ,’ उनले भने ।

त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनमा लागेका हजारौं मजदुरहरको हक हित र अधिकारको लागी संघले सदैव सद्भाव रहेको बताउदै, उनीहरुको आवाजमा जुनसुकै सरकारी निकायमा गएर साथ सहयोग रहने प्रतिवद्धता जनाए।

टानका अध्यक्ष खुम सुवेदीले पर्यटन व्यवसायी र मजदुरहरु सिकाका दुई पाटा भएको बताउदै पर्वतीय पथप्रदर्शकहरुको मागप्रति सकरात्मक रहेको बताए ।

कार्यक्रममा २५ पटक सगरमाथा आरोहण गरेका विश्व किर्तिमानी कामिरिता शेर्पाले नेपाली माउन्टेन गाइडलाई नेपाल सरकारले परिचय पत्र वितरण गरेकोमा निकै खुशि भएको बताए ।

तर केहि दर्जन अन्तर्राष्ट्रिय तालिमप्राप्त गाइडले अदालतमा रिट निवेदनको मुद्दा दायर गरेकोले परिचय पत्र वितरणमा रोक लागेकोमा निकै दुःख लागेको बताए ।

उनले भने, ‘वर्षेनी हिमाल चढ्ने रुट खोल्ने, आइसफलमा डोरी टाँग्ने, आरोहणको लागी बाटो बनाउने सबै क्लाइम्बरले हो । अन्तर्राष्ट्रिय गाइडले होइन । हामीले बाटो नखोलेसम्म हिमाल चढ्न कोहि पनि सक्दैन । त्यहि पर्वतीय श्रमिकले खोलेको बाटोमा अन्य आरोहण हिमाल चढ्छन, तिनीहरुले नै लाइसेन्स नपाउने ? उनीहरुनै अयोग्य हुने ? यो कस्तो कुरा हो ? यो नियम के हो ?’

शेर्पाले यससम्बन्धमा सरकारले दुधको दुध पानीको पानी छुट्याउनु समेत आग्रह गर्दै भने,  ‘नेपालमा सयौं हिमालहरु छन, नयाँ बाटो र रुट खोलेमा हामी साथ दिन तयार छौ । नयाँ हिमाल एक्स्पलोर र खुलाउन हामी क्लाइम्वर र माउन्टेन गाइड विना असम्भव छ । माउन्टेन गाइड र अन्तर्राष्ट्रिय तालिम प्राप्त गाइडहरु मिलेर हिमालमा काम गरे मात्र सफल हुन्छ, राज्यलाई पनि फाइदा हुन्छ । त्यसैले बन्द गरिएको लाइसेन्स सुचारु गर्न र वर्षौदेखि परिचयविहिन पर्वतीय पथप्रदर्शकहरुलाई सम्मानजनक ढंगले आफ्नो पेशामा लाग्न दिन सरकार समक्ष अनुरोध गर्दछु ।’

त्यस्तै विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरुले पर्वतीय पथप्रदर्शकहरुको माग जायज रहेको भन्दै उनीहरुको हक अधिकारको लागी एक्यवद्धता जनाएको छ । सहभागी गाइडहरुले पर्वतीय पथ प्रदर्शकहरुको समसामयिक मुद्दाहरु जस्तै पर्वतीय पथप्रदर्शक परिचय पत्र, सामाजिक सुरक्षा कोष, उद्धार कोष तथा तालिम व्यवस्थापनलगायत विभिन्न मुद्दाहरुमा अन्तरक्रिया गर्दै मागहरुको सम्बोधन गर्न पर्ने धारणा राखेका थिए ।

उक्त कार्यक्रममा पर्यटन विभाग, टेकिङ्ग एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), एक्सपिडिसन अपरेटर एसोसिएसन, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ, पर्यटन क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरू नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ ( निटोग), समाजवादी पर्यटन श्रमिक ट्रेड युनियन, एकीकृत पर्यटन श्रमी संगठन, पर्वतीय पथप्रदर्शक संघ नेपाल (मोगान) र पर्वतीय पथप्रदर्शकहरूका बीचमा छलफल तथा अन्तरक्रिया भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *