मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं। वैदेशिक रोजगारीमा मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्यसचिव अर्यालको पनि संलग्नता देखिएको जनाएको छ।
प्रहरी उच्च स्रोतका अनुसार अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी भने हाल फरार छन्। यो प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढाइएपछि अर्याल सम्पर्कविहीन भएको स्रोतको भनाइ छ।
यही ठगी प्रकरणमा सीआईबीले बुधबार मात्र दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ रहेका छन्।
यसअघि नै ब्यूरोले यो प्रकरणमा चार जनालाई पक्राउ गरिसकेको थियो। ती चार जनामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान गर्दा संलग्नता देखिएपछि पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो। समझौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ।
श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment