हरिबोधिनी एकादशीमा रामपुर नगरपालिकामा सार्वजनिक बिदा
रामपुर। पाल्पाको रामपुर नगरपालिकाले हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते हरिबोधिनी एकादशीका दिन पालिकाभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलद्वारा जारी सूचनामा रामपुर नगरपालिका भएर बग्ने कालीगण्डकी नदी क्षेत्रमा भव्य रूपमा मनाइने पवित्र चाड हरिबोधिनी एकादशी २०८३ को पावन अवसरमा कार्यपालिकाको बैठकको निर्णयअनुसार बिदा दिइएको उल्लेख छ। सूचनाअनुसार रामपुर नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा बिदा लागू हुनेछ।
हरिबोधिनी एकादशी यस क्षेत्रमा उल्लासमय रूपमा मनाइने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिँदै आएको नगर प्रमुख रमणबहादुर थापाले बताए। हरिबोधिनी एकादशीका दिन कालीगण्डकी नदीमा स्नान गरे पुण्य प्राप्त हुने जनविश्वासका साथ टाढा–टाढाबाट समेत श्रद्धालु भक्तजन विभिन्न घाटमा स्नान गर्न आउने गर्दछन्।
कालीगण्डकी नदी किनारका घाटमा हरिबोधिनी एकादशीका अवसरमा तोरण तार्ने, भजनकीर्तनसहित नाचगान गर्ने तथा फलफूल र स्थानीय रूपमा उत्पादित वस्तु किनबेच गर्नेहरूको निकै घुइँचो लाग्ने गर्दछ। हरिबोधिनी एकादशीमा पाल्पाको रिडी, राम्दी, रानीघाट, केलादीघाट, ज्याग्दी, पुट्टार, तातोपानी र हुँगीलगायतका विभिन्न घाटमा मेला लाग्ने गर्दछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment