प्रधानमन्त्रीलाई ओलीको प्रश्न- मेयर छँदा टाँसेको ग्रेटर नेपालको नक्सा देखाएर किन कुरा नगरेको?
काठमाडौ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका सन्दर्भमा धारणा राख्दै देखाउन र कुरा गर्न सजिलो भए पनि यथार्थमा गाह्रो हुने बताएका छन्। राजधानीमा सञ्चारकर्मी तथा सम्पादकहरूसँगको छलफलमा ओलीले ‘आफू मेयर छँदा टाँसेको ग्रेटर नेपालको नक्सा देखाएर किन कुरा नगरेको ?’ भन्दै प्रश्न गरे।
ओलीले प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा राजनीतिक दल, विज्ञ र सरोकारवालासँग छलफल तथा राय–सल्लाह लिएर देशकै प्रतिनिधित्व गर्दै जान सकिने भए पनि शाहले कुरै गर्न नचाहेको टिप्पणी गरे।
छलफलका क्रममा उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान, न्यायपालिका, निर्वाचन तथा राष्ट्रिय हितका विषयमा समेत आफ्ना धारणा व्यक्त गरेका छन्।
सञ्चारकर्मीहरूसँगको संवादमा अध्यक्ष ओलीले राज्य संयन्त्रबाट आवश्यक सहयोग नपाए प्रधानमन्त्री एक्लैले सबै काम गर्न नसक्ने बताए। उनले मुलुकको लोकतान्त्रिक व्यवस्था, राज्य सञ्चालन र न्यायपालिकाको भूमिकामाथि पनि प्रश्न उठाए। ओलीले भदौ २३ र २४ गतेका घटनाबारे चर्चा गर्दै त्यसपछिका राजनीतिक घटनाक्रम र सत्ता परिवर्तनका विषयमा आफ्नो धारणा राखेका छन्।
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको प्रक्रिया तथा प्रतिनिधिसभा विघटनको संवैधानिक आधारमाथि प्रश्न उठाउँदै उनले आफ्नो सिफारिसमा भएको संसद् विघटन र पछिल्लो संसद् विघटनलाई फरक ढङ्गले हेरिएको विषयमा असन्तुष्टि जनाए। साथै, उनले अदालतमा विचाराधीन मुद्दा तथा संवैधानिक प्रक्रियाका विषयमा समेत चर्चा गरे।
निर्वाचन खर्च घटाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए। उनले संघ र प्रदेशको निर्वाचन एकै समयमा सञ्चालन गर्दा खर्च कम हुने धारणा पनि राखे।
राष्ट्रिय हित र परराष्ट्र सम्बन्धबारे चासो व्यक्त गर्दै ओलीले नेपाल–भारत सम्बन्ध, सन् १९५० को सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी), स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) तथा चुच्चे नक्सासम्बन्धी विषयमा आफ्ना विचार राखे।
राष्ट्रिय हित र परराष्ट्र सम्बन्धका विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाउनुपर्ने विषय तथा भैरहवा विमानस्थलबाट हवाई उडान सञ्चालनसम्बन्धी विषयमा समेत धारणा राखे।
समसामयिक राजनीति, संवैधानिक व्यवस्था, निर्वाचन र राष्ट्रिय हितका विविध विषयमा केन्द्रित उक्त छलफलमा ओलीले सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफसमेत दिएका थिए।
No ads found for this position



डिसी नेपाल

Facebook Comment