६८ बलमा १८१ रन, १९ छक्का : टि-२० क्रिकेटमा धेरै रेकर्ड एकैपटक ध्वस्त

DC Nepalडिसी नेपाल
८ मंसिर २०८३ १२:०४

काठमाडौं । सैयद मुस्ताक अली ट्रफी २०२६–२७ मा आज मङ्गलबार दिल्लीले तमिलनाडुको सामना गरिरहेको छ। इन्दौरस्थित डेली कलेज ग्राउन्डमा आयोजित एलिट समूह ‘बी’ को यस खेलमा दिल्लीका कप्तान प्रियांश आर्यको तुफानी ब्याटिङ देखिएको छ। प्रियांशले ६८ बलमा १८१ रन बनाए, जसमा १९ छक्का र ७ चौका सामेल थिए।

टी-२० क्रिकेट इतिहासमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो दोस्रो ठुलो व्यक्तिगत स्कोर हो। यस सूचीमा दक्षिण अफ्रिकाका लुआन-ड्रे प्रिटोरियस पहिलो स्थानमा छन्, जसले यसै वर्ष टाइटन्सका तर्फबाट नाइट्सविरुद्ध अविजित १८८* रन बनाएका थिए।

प्रियांशले क्यारेबियाली दिग्गज क्रिस गेललाई पछि पारेका छन्, जसले सन् २०१३ को अप्रिलमा पुणे वारियर्सविरुद्ध रोयल च्यालेन्जर्स बेङ्गलुरुका लागि अविजित १७५ रन बनाएका थिए। प्रियांश भारतमा सबैभन्दा ठुलो टी-२० इनिङ्स खेल्ने ब्याट्सम्यानसमेत बनेका छन्। यस मामिलामा पनि उनले गेललाई नै उछिनेका हुन्।

बायाँ हाते ब्याट्सम्यान प्रियांश आर्य अब सैयद मुस्ताक अली ट्रफीमा सबैभन्दा ठुलो पारी खेल्ने ब्याट्सम्यान बनेका छन्। प्रियांशले तिलक वर्माको कीर्तिमान भङ्ग गरेका हुन्। तिलकले सन् २०२४ को नोभेम्बरमा हैदराबादका तर्फबाट मेघालयविरुद्ध १५१ रनको पारी खेलेका थिए।

प्रियांश अब टी-२० क्रिकेटमा सबैभन्दा ठुलो पारी खेल्ने भारतीय ब्याट्सम्यानसमेत बनिसकेका छन्। प्रियांशले केएल राहुललाई पछि पारे, जसले पञ्जाब किङ्स विरुद्ध दिल्ली क्यापिटल्सका लागि अविजित १५२* रन बनाएका थिए।

प्रियांश आर्य अब कुनै पनि टी-२० खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानहरूको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा पुगेका छन्। न्युजिल्यान्डका फिन एलेनले सान फ्रान्सिस्को युनिकोर्न्सका तर्फबाट वासिङ्टन फ्रिडमविरुद्धको खेलमा १९ छक्का प्रहार गरेका थिए।

प्रियांशले यस क्रममा आफ्नो शतक केवल ३६ बलमा पूरा गरेका थिए। यो प्रियांशको टी-२० करियरको तेस्रो शतक हो।

प्रियांश आर्यले बनाएका कीर्तिमानहरू: कुनै पनि भारतीय ब्याट्सम्यानको सबैभन्दा ठुलो टी-२० स्कोर, भारतमा कुनै पनि ब्याट्सम्यानको सबैभन्दा ठुलो टी-२० स्कोर, कप्तानका रूपमा सबैभन्दा ठुलो टी-२० स्कोर, सैयद मुस्ताक अली ट्रफीमा सबैभन्दा ठुलो पारी, समग्र टी-२० क्रिकेटमा दोस्रो सबैभन्दा ठुलो पारी, एकै टी-२० पारीमा सर्वाधिक छक्का (१९) ।

खेलमा दिल्लीको सुरुवात राम्रो हुन सकेन र ३० रनको स्कोरमा पहिलो विकेट गुमायो, जतिबेला यश धुल (८ रन) लाई गुरजपनीत सिंहले पेभिलियन फर्काए। यहाँबाट प्रियांश आर्य र नितीश राणाले दोस्रो विकेटका लागि ११८ रनको साझेदारी गरे।

यस साझेदारीमा प्रियांशको योगदान निकै उच्च रह्यो र उनले ८९ रन बनाए, जबकि नितीशको योगदान केवल १८ रनको मात्र रह्यो। प्रियांशको विस्फोटक प्रदर्शनको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २७५ रन बनायो।

प्रियांश आर्य इन्डियन प्रिमियर लिगमा पञ्जाब किङ्सको प्रतिनिधित्व गर्दछन्। प्रियांशले हालसम्म ३० आईपीएल खेलमा २७.९६ को औसतमा ८३९ रन बनाएका छन्। यस क्रममा उनको ब्याटबाट १ शतक र ५ अर्धशतक निस्किएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *