कहिले पाउँछ मधेस प्रदेश सरकारले पूर्णता ? काठमाडौंको राजनीतिक संवादपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
जनकपुरधाम। मधेस प्रदेश सरकार गठन भएको पाँच दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। प्रदेशको राजनीतिक समीकरण र शक्ति बाँडफाँटको अन्तिम टुंगाे काठमाडौंमा हुने शीर्ष नेताहरूको संवादपछि मात्र लाग्ने देखिएको छ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न राजनीतिक दलका केन्द्रीय शीर्ष नेताहरूसँगको छलफलपछि मात्र सरकार विस्तार गर्ने स्पष्ट पारेका छन्।
आज राष्ट्रिय समाचार समिति (रासस) सँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले सरकार विस्तारको गृहकार्यका लागि आफू छिट्टै काठमाडौं जान लागेको जानकारी दिए। प्रदेश स्तरमा मात्रै सहमति जुटाउन कठिन भएकाले केन्द्रीय नेतृत्वको विश्वास लिन आवश्यक रहेको उनको भनाइ छ।
“केही दिनभित्रै काठमाडौँ जान्छु,” मुख्यमन्त्री यादवले भन्नुभयो, “काठमाडौँमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका दलका शीर्ष नेतालाई भेटेर छलफल गर्छु, अनि मात्र सरकार विस्तार गर्छु ।”
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सरकारमा सहभागी गराएर सर्वदलीय सरकार बनाउने मुख्यमन्त्री यादवको मुख्य चाहना रहेको छ। १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा बहुमत सिद्ध गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्दछ।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका यादवले नियुक्ति भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।
यसअघि मङ्सिर ५ गते मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
मुख्यमन्त्रीको शपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन भए पनि महत्त्वपूर्ण मन्त्रालयहरूको भागबन्डा मिल्न बाँकी छ। प्रदेशमा सत्ता साझेदार दलहरूबीच मन्त्रालयको सङ्ख्या र नेतृत्वका विषयमा आन्तरिक रस्साकस्सी चलिरहेकाले सरकार विस्तारमा विलम्ब भएको हो।
मुख्यमन्त्री यादवको काठमाडौं भ्रमण र त्यहाँ हुने शीर्ष तहको राजनीतिक परामर्शले नै मधेस सरकारको आगामी स्वरूप र पूर्णताको मिति तय गर्नेछ। सर्वदलीय सहमतिको प्रयास सफल भएमा आगामी साताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा गरिएको छ, यद्यपि दलहरूबीचको शक्ति सन्तुलन र विश्वासको मतको सुनिश्चितता नै सरकार विस्तारको मुख्य निर्णायक आधार बन्ने देखिएको छ।
No ads found for this position



डिसी नेपाल

Facebook Comment