पटाका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको निधन
जनकपुरधाम । पर्साको पकाहाँ मैनपुर गाउँपालिका-२, मधुबनीमा दीपावली तथा चाडपर्वका अवसरमा पटाका पड्काउने क्रममा जलेर एक पाँच वर्षीय बालकको दुःखद निधन भएको छ।
स्थानीय मखु सहनीका पाँच वर्षीय छोरा सोमबार बिहान करिब ८:३० बजे घर परिसरमा पटाका पड्काउँदै थिए। सोही क्रममा एक्कासि पटाकाबाट सल्किएको आगोले बालकको छातीमा गम्भीर चोट पुर्याएको थियो। आगोको लपेटामा परेर उनी घटनास्थलमै गम्भीर घाइते भई बेहोस भएका थिए।
घटनालगत्तै परिवार र स्थानीयले बालकलाई उद्धार गरी तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याएका थिए। तर अस्पतालमा उपचारका क्रममा डाक्टरहरूले उनलाई मृत घोषित गरेको मृतकका बुबा मखु सहनीले जानकारी दिएका छन्।
चाडपर्वका बेला बालबालिकालाई पटाकाजस्ता प्रज्वलनशील पदार्थबाट टाढा राख्न प्रहरी तथा स्थानीय प्रशासनले ताकेता गर्दै आए तापनि यस्ता दुःखद घटनाहरू दोहोरिने गरेका छन्।
घटनाबारे इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट टोली खटिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
No ads found for this position



डिसी नेपाल

Facebook Comment