मलानको अविजित ७१ रनमा चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य
काठमाडौं । डेविड मलानले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो। चितवनका लागि मलानले अन्तिमसम्म क्रिजमा टिकेर अविजित ७१ रनको योगदान दिए।
ओपनर कामिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि वान डाउनमा ब्याटिङ गर्न आएका मलानले एक छेउ सम्हाल्दै पारी उकासे। उनले ५१ बल सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे।
मलानले सातौं विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको महत्त्वपूर्ण साझेदारी गरे। आठौं नम्बरमा ब्याटिङमा आएका खानले १६ बलमा १ छक्काको मद्दतले १८ रन जोडे भने कमल सिंह ऐरीले ८ बलमा १ छक्कासहित १० रन बनाए।
चितवनका अन्य ब्याटर भने दोहोरो अंकमा रन जोड्न असफल रहे। ओपनर कामिल मिशारा ४ र देव खनाल ६ रनमा आउट हुँदा कप्तान रवि बोपारा तथा कुशल मल्ल समान १–१ रनमा पेभिलियन फर्किए। त्यसैगरी विवेक यादवले ३ र उसामा मिरले २ रन बनाउँदा रिजन ढकाल ४ रनको स्थितिमा अन्तिम बलमा रनआउट भए।
बलिङतर्फ सुदूरपश्चिम रोयल्सका लागि स्कट कुगुलेइनले ३ विकेट लिए। थरिन्दु रत्नायकेले २ विकेट हात पार्दा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १–१ विकेट लिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment