हिंसा पीडितले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री वादी
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले लैङ्गिक हिंसा अन्त्यका लागि पीडितले वास्तविक रूपमा सुरक्षा, न्याय र सम्मान प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने बताएकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा राष्ट्रिय महिला आयोगद्वारा मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
मन्त्री बादीले हिंसा व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभई मानवअधिकार, सामाजिक न्याय, समानता र संविधानप्रदत्त सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको राष्ट्रिय सरोकारको विषय भएको बताइन्।
उनले हिंसा गर्ने व्यक्तिको पद, प्रतिष्ठा, आर्थिक हैसियत वा राजनीतिक पहुँचका आधारमा कानुन फरक हुन नसक्ने स्पष्ट पार्दै पीडितको अधिकारलाई हिंसा गर्ने व्यक्तिको पहुँचभन्दा माथि राख्नुपर्ने बताइन्।
‘पीडितले न्याय खोज्दा विभिन्न कार्यालय धाउनुपर्ने, पटकपटक आफ्नो पीडा सुनाउनुपर्ने र न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भनिन्।
मन्त्री वादीले महिला तथा बालिकामाथि घर, कार्यस्थल, सार्वजनिक स्थान, विद्यालय, वैदेशिक रोजगारी र डिजिटल माध्यमबाट समेत हिंसा भइरहेको बताइन्।
यस्तै, दलित महिला, अपाङ्गता भएका महिला, दुर्गम क्षेत्रका महिला, एकल महिला तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदाय बढी जोखिममा रहेको उनको भनाइ थियो।
No ads found for this position



डिसी नेपाल

Facebook Comment