अनुदानको मल दुरुपयोग गरेपछि दुई लाख जरिबाना
झापा। सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितताको आरोपमा झापाका एक पसललाई दुई लाख जरिबाना गरिएको छ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ।
अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको कुल ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो।
बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण पेस गर्न नसकेपछि भण्डारलाई जरिवाना गरिएको हो।
भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डीएपी थियो। अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डीएपी भेटिएको थियो।
बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो।
यसैगरी, बुद्धशान्ति–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो। उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको प्रशासनले जनाएको छ।
No ads found for this position



डिसी नेपाल

Facebook Comment