दुर्घटना गराएर भागेका चालक स्कर्पियोसहित पक्राउ
सिरहा। सवारी दुर्घटना गराएर फरार रहेका चालकलाई प्रहरीले स्कर्पियोसहित नियन्त्रणमा लिएको छ।
सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कर्पियोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न चालक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मङ्सिर ८ गते साँझ ६ः५५ बजे नम्बर नखुलेको सिल्भर रङको स्कर्पियोले गोलबजारबाट निपनिया चोकतर्फ जाँदै गरेका स्थानीय हरिया महराका ५० वर्षीय छोरा बसन्त महरालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा मृत्यु भएको थियो।
अनुसन्धानका क्रममा दुर्घटनामा संलग्न बा.प्र.०१-०२५ च ७३९६ नम्बरको स्कर्पियो र चालक सिरहाको मिर्चैया नगरपालिका–४ बाह्रबिघाका ४२ वर्षीय बिहारी महराको पहिचान खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मङ्सिर १० गते बिहान १०ः५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमा स्कर्पियो लुकाइछिपाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चालकलाई सवारीसाधनसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल

Facebook Comment