सरकारी सेवाबाट अवकाश पाएकालाई दुई वर्षसम्म कानुन व्यवसायमा रोक

DC Nepalडिसी नेपाल
८ मंसिर २०८३ १९:५७

काठमाडौं। नेपाल कानुन व्यवसायी परिषद्ले सरकारी सेवाबाट अवकाश पाएका पदाधिकारी तथा कर्मचारीलाई सेवा निवृत्त भएको दुई वर्षसम्म कानुन व्यवसायमा प्रवेश गर्न रोक लगाएको छ। अवकाश पाएलगत्तै वकालत पेसामा प्रवेश गर्दा उत्पन्न हुन सक्ने ‘स्वार्थको द्वन्द्व’ रोक्न र न्यायिक निष्पक्षता कायम राख्न परिषद्ले दुई वर्षे ‘कुलिङ अफ पिरियड’को व्यवस्था लागू गरेको हो।

मंसिर १ गते बसेको परिषद्को बैठकले गरेको यो निर्णयसँगै अब सरकारी सेवा त्यागेका वा निवृत्त भएका व्यक्तिले सेवा अवधि सकिएको मितिले दुई वर्ष पूरा नभएसम्म कानुन व्यवसायीको प्रमाणपत्र अद्यावधिक गर्न पाउने छैनन्। उनीहरूले सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै कानुन व्यवसायको अभ्यासका लागि प्रक्रिया अघि बढाउन पाउनेछन्।

यसअघि सरकारी जिम्मेवारीबाट निवृत्त हुनेबित्तिकै वकालत पेसामा सक्रिय हुँदा न्यायिक प्रक्रियामा पूर्वपहुँचको दुरुपयोग हुन सक्ने र यसले न्याय सम्पादनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको गुनासो थियो। सोही अवस्थालाई सम्बोधन गर्दै परिषद्ले अनिवार्य रूपमा दुई वर्ष पर्खनुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो।

परिषद्ले जारी गरेको सूचनाअनुसार संघ, प्रदेश र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाई कार्यरत निजामती कर्मचारी, न्यायाधीश वा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्तिमा यो व्यवस्था लागू हुनेछ।

यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेनामा कार्यरत व्यक्तिका साथै तीनै तहका सरकारबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीले समेत सेवा निवृत्त भएको दुई वर्षसम्म कानुन व्यवसाय गर्न पाउने छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *