देशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिनुपर्छ: कांग्रेस नेता नैनसिंह महर

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ १४:४९

धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकहरूलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था तत्काल सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग जोडदार माग गरेका छन्।

धनगढीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता महरले रेमिटेन्समार्फत देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण रहेको बताएका छन्।

‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन्। उनीहरूले आफ्नो श्रम, सीप र पुँजीमार्फत देशको अर्थतन्त्र धानिरहेका छन्। सामाजिक र आर्थिक अधिकारको कुरा गर्दै आएका हामीले अब मतदानको अधिकार पनि अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ७ खर्ब ३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यसले नेपालको विदेशी मुद्रा सञ्चिति, घरायसी उपभोग, रोजगारी र समग्र आर्थिक स्थायित्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

अर्थतन्त्रमा यत्रो ठूलो योगदान गर्ने नागरिकलाई राजनीतिक निर्णय प्रक्रियाबाट बाहिर राख्नु राजनीतिक अर्थशास्त्रको दृष्टिले पनि ठूलो असमानता भएको महरको ठहर छ।

उनले विदेशस्थित नेपाली दूतावासहरूमार्फत मतदान केन्द्रहरूको स्थापना गर्ने, सुरक्षित वैकल्पिक मतदान प्रणाली अपनाउने, मतदाता नामावली दर्ता गर्ने तथा वैदशिक रोजगारीमा रहेका श्रमिकहरूको सुरक्षा, कानुनी सहायता र सामाजिक सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन्।

‘देशको अर्थतन्त्रमा योगदान गर्ने नेपालीको मत पनि देशको भविष्य निर्माणमा प्रतिबिम्बित हुनुपर्छ। आगामी निर्वाचनबाटै विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयन गरिनु लोकतन्त्र र राष्ट्रिय अर्थतन्त्रप्रतिको उच्च सम्मान हो,’ महरले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *