होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
काठमाडौं। नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको उल्लेख गरिएको छ।
कांग्रेसले सरकारको उक्त निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्य नागरिकको अभिभावक हो। घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन।’
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको धारणा छ। सुकुम्बासी समस्याको समाधान नागरिकलाई हटाएर नभई उनीहरूको समस्या हटाएर गर्नुपर्ने पार्टीले जनाएको छ।
यसैबीच, होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्।
मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आजसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी रहेकाले बैठक आगामी शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position



डिसी नेपाल

Facebook Comment