सफा मौसमसँगै पोखराको आकाशमा प्याराग्लाइडिङको रौनक : दैनिक दुई सयबढी पर्यटकले लिँदैछन् साहसिक अनुभव
गण्डकी। पर्यटकीय नगरी पोखराको मौसम हिजोआज निकै सफा र खुलेको छ। खुलेको आकाशमुनि टल्किने हिमशृङ्खला, मनमोहक तालतलैया र हरियाली डाँडापाखाको दृश्य नियाल्दै प्याराग्लाइडिङ गर्न यतिबेला पर्यटकहरू निकै लालायित देखिएका छन्।
नेपाल हवाई खेलकुद संस्थाका अनुसार हाल दैनिक दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको साहसिक अनुभव लिइरहेका छन्। दसैं-तिहारको बिदाको समयमा भने यो सङ्ख्या उकालो लागेर दैनिक चार सयसम्म पुगेको थियो।
प्याराग्लाइडिङ गर्ने कुल पर्यटकमध्ये विदेशीको हिस्सा झण्डै ६० प्रतिशत र स्वदेशी पर्यटकको हिस्सा ४० प्रतिशत रहेको संस्थाका अध्यक्ष माधव तिवारीले बताए। “वर्षा भइरहेको र मौसम बिग्रिएको दिनबाहेक वर्षमा करिब तीन सय दिन पोखरामा नियमित प्याराग्लाइडिङ उडान हुने गर्छ,” अध्यक्ष तिवारीले भने, “पछिल्लो समय साहसिक खेल प्याराग्लाइडिङ उडानमा नेपाली युवा तथा आन्तरिक पर्यटकहरूको पनि आकर्षण निकै बढ्दो क्रममा छ।”
साहसिक पर्यटनसँग प्रत्यक्ष जोडिएको प्याराग्लाइडिङ अहिले पोखराको मुख्य चिनारीका रूपमा स्थापित भइसकेको उनले जनाए। उनका अनुसार पोखरा भ्रमणका लागि आउने कुल पर्यटकमध्ये झण्डै २० प्रतिशतले प्याराग्लाइडिङको मजा लिने गरेका छन्।
हाल नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ वटा कम्पनीले पोखरामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन्। ती कम्पनीहरूमा दुई सय ३० जना दक्ष एवं तालिमप्राप्त पाइलटहरू कार्यरत छन्। उडान भर्ने पाइलटदेखि यात्रुसम्मको अनिवार्य बीमा गर्ने व्यवस्था मिलाइएको अध्यक्ष तिवारीले बताए।
प्याराग्लाइडिङका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न सुरक्षाका सबै मापदण्ड र उपायहरू कडाइका साथ अवलम्बन गर्ने गरिएको उनले जनाए। यसका साथै, प्याराग्लाइडिङ व्यवसायको नियमित अनुगमन गर्ने तथा सञ्चालन अनुमतिपत्रको नवीकरणलगायतका प्रशासनिक कामसमेत नेपाल हवाई खेलकुद संस्थामार्फत नै हुने गरेको उनले बताए।
पोखरा महानगरपालिका-१८ स्थित सराङकोट र तोरीपानी डाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गरी फेवाताल किनारको खपौदी फाँटमा अवतरण (ल्यान्डिङ) गर्ने गरिन्छ। समुद्री सतहदेखि करिब १ हजार ६ सय ५० मिटरको उचाइबाट उडान भर्ने गरिएको फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका प्रशिक्षक एवं पाइलट एलिस थापाले बताए। सुरक्षाका सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गरेर मात्र अनुभवी पाइलटहरूले प्याराग्लाइडिङ उडान गर्ने गरेको उनले जनाए।
यद्यपि, साहसिक पर्यटन गतिविधि रुचाउने विदेशी पर्यटकहरूलाई अझै बढी आकर्षित गर्न पोखरामा प्याराग्लाइडिङ उडान क्षेत्र (एयर स्पेस) विस्तार गर्नुपर्ने आवश्यकता रहेको प्रशिक्षक थापाले औँल्याए। “उडानका लागि एयर स्पेस कम हुँदा एकल (सोलो) उडानका लागि आउने विदेशी पर्यटकलाई सोचेजति मात्रामा पोखरामा भित्र्याउन सकिएको छैन,” प्रशिक्षक थापाले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडानका लागि एयर स्पेस बढाउने निर्णय गर्ने हो भने अझै धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै हवाई उडानको सुरक्षालाई दृष्टिगत गरी प्याराग्लाइडिङ उडान केही समयका लागि बन्दसमेत गरिएको थियो। पछि सरोकारवालाहरूको पहलमा निश्चित स्थान र उचाइ तोकेर प्राधिकरणले पुनः प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिएको थियो।
प्रशिक्षक थापाले विगतको तुलनामा पोखरामा प्याराग्लाइडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कम हुँदा विभिन्न देशबाट प्रतियोगिताकै लागि आउने पर्यटकको सङ्ख्या पनि घटेको बताए। प्याराग्लाइडिङका लागि पोखरा विश्वकै उपयुक्त र आकर्षक गन्तव्य भएकाले राज्यले व्यवसायीहरूलाई प्रोत्साहित गर्ने गरी स्पष्ट नीति तथा योजना ल्याउनुपर्ने उनले जनाए।
पोखरामा हाल प्रतिव्यक्ति आठ हजार पाँच सय रुपैयाँ शुल्क तिरेर प्याराग्लाइडिङ गर्न पाइने व्यवस्था छ। यद्यपि, सिजन र अवस्थाअनुसार उक्त दरमा केही घटबढसमेत हुन सक्ने व्यवसायीहरू बताउँछन्। प्याराग्लाइडिङ गर्ने पर्यटकले आकाशमा १५ देखि ३० मिनेटसम्म चराजस्तै उडेर मनोरञ्जन लिन पाउँछन्। पोखराको आकाशमा करिब तीन दशकअघिदेखि व्यावसायिक प्याराग्लाइडिङ उडान गर्न सुरु गरिएको इतिहास छ।
प्याराग्लाइडिङ व्यवसायका लागि आवश्यक पर्ने दक्ष पाइलट तयार गर्न तालिमसमेत पोखरामै सञ्चालन गर्ने गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा केही दिनअघि मात्र नयाँ प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वदेशमै अन्तर्राष्ट्रिय स्तरका दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको हो।
पोखरामा प्याराग्लाइडिङसँगै बञ्जी जम्प, स्काइडाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, जिपलाइन जस्ता अन्य साहसिक पर्यटन गतिविधिहरूसमेत सञ्चालन हुँदै आएका छन्। रोमाञ्चक र साहसिक अनुभव बटुल्नका लागि देश तथा विदेशका पर्यटकहरू यस्ता गतिविधिमा निकै आकर्षित हुने गरेका छन्।
‘प्रकृति, संस्कृति र साहस’मा आधारित पोखराको पर्यटन उद्योगमा साहसिक खेल गतिविधिको अत्यन्तै महत्वपूर्ण स्थान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। साहसिक पर्यटन गतिविधिमा अझै धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिएमा समग्र पोखराको पर्यटन क्षेत्र र अर्थतन्त्रले ठूलो लाभ लिन सक्ने विश्वास उनले जनाए। रासस
No ads found for this position



डिसी नेपाल

Facebook Comment