प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट कुनै ठूलो उपलब्धि भएको छैन : प्रचण्ड

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ १८:५०

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा लिनुपर्ने बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई कतिपयले ऐतिहासिक र विशेष उपलब्धिका रूपमा व्याख्या गरे पनि आफूले त्यस्तो कुनै ठूलो उपलब्धि नदेखेको बताए। प्रधानमन्त्री भारत जानु र भारतीय समकक्षीसँग भेटवार्ता गर्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले भ्रमणलाई अनावश्यक रूपमा ठूलो विषय बनाउन नहुने धारणा राखे।

‘प्रधानमन्त्री भारत जानुपर्थ्यो, जानुभयो। मोदीजीसँग राम्रै अङ्कमाल गरेर आउनुभएको छ, त्यसलाई सकारात्मक रूपमै हेर्नुपर्छ,’ दाहालले भने, ‘एउटा विशिष्टता जस्तो कोही कोहीले भन्न खोजेका छन्– उत्पात भयो, इतिहास बन्यो, यो सही होइन।’

दाहालले आफू प्रधानमन्त्री हुँदा भएको औपचारिक भारत भ्रमणका क्रममा उठाइएका विषयहरूमा समेत अहिलेको भ्रमणले उल्लेखनीय प्रगति गर्न नसकेको दाबी गरे। विशेषगरी हवाई रुट, विद्युत् व्यापार र सीमा समस्याका विषयमा त्यतिबेला गम्भीर छलफल भएको उनको भनाइ छ।

आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले सीमा समस्या छिट्टै समाधान गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गर्दै दाहालले अहिलेको भ्रमणमा त्यस्तो स्तरको छलफल र उपलब्धि नदेखिएको बताए। भैरहवासहित नेपालगञ्ज र धनगढीका हवाई रुटसम्बन्धी विषय पनि पहिले नै उठिसकेको उल्लेख गर्दै उनले अहिले सैद्धान्तिक सहमतिभन्दा माथि ठोस उपलब्धि हासिल भएको आफूले नदेखेको स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *