युद्ध पर्यटकीय क्षेत्र पिलीमा करोडौँको भ्यूटावर प्रयोगविहीन, संरक्षण अभावमा संरचना अलपत्र
कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका-७ स्थित पिली युद्ध पर्यटकीय क्षेत्रमा करोडौँ लगानीमा निर्मित भ्यूटावर प्रयोगविहीन बनेको छ। तीन वर्ष अघि निर्माण सम्पन्न भएको उक्त भ्यूटावर संरक्षण, रेखदेख र सञ्चालनको जिम्मा डिभिजन वन कार्यालय कालीकोटले स्थानीय तहलाई हस्तान्तरण नगर्दा अलपत्र अवस्थामा पुगेको हो।
कर्णाली राजमार्गको छेउमा रहेको पिली डाँडामा पर्यटक आकर्षण गर्ने उद्देश्यले ६ करोड रुपैयाँभन्दा बढी लागतमा अग्लो र गोलाकार भ्यूटावर निर्माण गरिएको थियो। तर, उचित संरक्षण र रेखदेख नहुँदा पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावरका स्टिलका बार, सिसा लगायतका बहुमूल्य सामान चोरी हुन थालेका छन्।
तत्कालीन माओवादी र शाही सेनाबीच भएको युद्धको सम्झनामा निर्माण गरिएको भ्यूटावरसहितको युद्ध पर्यटकीय क्षेत्र अहिले अलपत्र परेको खाँडाचक्र नगरपालिका-७ का स्थानीय रनबहादुर कार्कीले बताए।
“युद्ध सङ्ग्रहालयको अवधारणामा निर्मित यो भ्यूटावरमा एउटा गेट, तीनवटा प्रतीक्षालय, दुईवटा चौतारा, फाउन्टेनसहितको एउटा पानीपोखरी, एउटा टिकट काउन्टर र शौचालयजस्ता कंक्रिट संरचना बनेका छन्,” कार्कीले भने, “अहिले यी सबै संरचनाको कुनै निकायले संरक्षण नगर्दा जिर्ण अवस्थामा पुगेका छन् भने बनेका संरचनाका स्टिलबार लगायतका सामान चोरी हुन थालेका छन्।”
पिलीलाई नमुना पर्यटकीय स्थल बनाउन २०७९ सालमा डिभिजन वन कार्यालय कालीकोटले आठ करोड ८९ लाख ९१ हजार रुपैयाँ लागत अनुमान गरी ठेक्का आह्वान गरेको थियो। जसमा कुशेश्वर कन्स्ट्रक्सन प्रालिले छ करोड ८९ लाख ९९ हजार रुपैयाँ लागतमा दुई वर्षअघि भ्यूटावर निर्माण सम्पन्न गरेको थियो।
यस योजनाअन्तर्गत पिलीको अग्लो डाँडामा २० मिटर अग्लो भ्यूटावर, पौडी पोखरी, त्यहाँसम्म पुग्नका लागि स्टिलबारसहित करिब १९ सय मिटर पैदल मार्ग, पार्किङ, प्रवेशद्वार, टिकट काउन्टर, बुट्यानसहितका दुईवटा चौतारा, शौचालय र मूल गेट निर्माण गरिएको छ।
निर्माण गर्ने सरकारी निकायले स्थानीय तहलाई जिम्मा नलगाएकै कारण संरचनाहरू जीर्ण बन्दै गएको खाँडाचक्र नगरपालिका–७ का वडाध्यक्ष दीपकराज कार्कीले बताए। उक्त संरचना कसको स्वामित्व र जिम्मामा रहने भन्ने यकिन नहुँदा अहिले क्षेत्र नै अलपत्र अवस्थामा पुगेको उनको भनाइ छ।
यता भ्यूटावरको निर्माण कार्य सकिए पनि हस्तान्तरणको विषयमा अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको डिभिजन वन कार्यालय कालीकोटका प्रमुख अमर साहले स्वीकार गरे। उनले अबका दिनमा आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर कुन निकायले संरक्षण गर्ने भन्ने विषयमा स्पष्ट जिम्मेवारी तोकिने बताए।
No ads found for this position



डिसी नेपाल

Facebook Comment