एलिसको चिनियाँ खुफिया एजेन्सीसँग सम्बन्ध भएको खुलासा

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ १२:०४

काठमाडौं । चिप उत्पादक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ र एलिस हुआङको प्रेम सम्बन्धलाई लिएर अमेरिकी गुप्तचर निकायहरूले एक ठुलो खुलासा गरेका छन्। जेन्सेन हुआङसँग एलिसको सम्बन्ध सुरु भएपछि चीनको ‘मिनिस्ट्री अफ स्टेट सेक्युरिटी’ (एमएसएस) ले उनीमाथि निगरानी राखिरहेको थियो र उनीबाट जानकारी हासिल गर्ने प्रयास गरिरहेको थियो।

‘द न्युयोर्क टाइम्स’ का अनुसार अमेरिकी कङ्ग्रेसका कर्मचारीहरूलाई दिइएको एक गोप्य ब्रिफिङमा गुप्तचर अधिकारीहरूले यसबारे जानकारी दिएका हुन्। यद्यपि, अमेरिकी गुप्तचर निकायहरूको जानकारीमा अझै पनि केही कडीहरू अधुरा छन्।

यसका साथै हालसम्म एलिसलाई विशेष गरी जेन्सेन हुआङको जासुसी गर्न भनिएको थियो वा उनले कुनै अत्यन्त संवेदनशील जानकारी चीनलाई दिएकी थिइन् भन्ने सङ्केत मिलेको छैन। तर, विभिन्न स्रोतहरूका अनुसार सन् २०२५ को वसन्त ऋतुदेखि एलिस एक एमएसएस अधिकारीको सम्पर्कमा थिइन्।

चिनियाँ कानुनअनुसार त्यहाँका नागरिकहरूले आवश्यक परेको खण्डमा गुप्तचर निकायहरूलाई सहयोग गर्नु अनिवार्य हुन्छ, जसका कारण अमेरिकी अधिकारीहरूको चिन्ता बढेको छ। ब्रिफिङमा एलिसका पति मानिने काङ वेईको एमएसएससँग अझै घनिष्ठ सम्बन्ध रहेको समेत बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जेन्सेन हुआङलाई पुनः एनभिडियाको सीईओ बनाउन हस्तक्षेप गरेको दुई दिनपछि हाउस र सिनेट इन्टेलिजेन्स कमिटीका कर्मचारीहरूलाई यो दुई घण्टे ब्रिफिङ दिइएको हो। एलिस हुआङ सिङ्गापुरको कम्पनी ‘मेगास्पिड’ मा वरिष्ठ अधिकारी रहिसकेकी छन्, जसमाथि संवेदनशील अमेरिकी प्रविधि चीन पठाएको आरोपमा अनुसन्धान चलिरहेको छ।

यस वर्षको वसन्त ऋतुमा विदेश मन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले एक गोप्य मेमो तयार पारेका थिए। त्यसमार्फत उनले एलिससँग जोडिएका खतराहरूबारे उपराष्ट्रपति जेडी भान्स, अर्थ मन्त्री स्कट बेसेन्ट, वाणिज्य मन्त्री होवार्ड लुटनिक, सीआईए निर्देशक जोन र्‍याटक्लिफ र तत्कालीन गुप्तचर निर्देशक तुलसी गबार्डलगायत शीर्ष अधिकारीहरूलाई सचेत गराएका थिए।

रुबियोले राष्ट्रपति ट्रम्पलाई पनि यस गुप्तचर जानकारीबारे अवगत गराएका थिए। यद्यपि, कङ्ग्रेसका दुवै समितिहरूले आग्रह गर्दागर्दै पनि मङ्गलबारको ब्रिफिङमा उक्त मेमो देखाइएन। उता, चीनले एलिस जासुस भएको आरोपलाई अस्वीकार गरेको छ।

यस महिनाको सुरुमा मेमोको कुरा बाहिर आएपछि जेन्सेन हुआङले विवाहेत्तर सम्बन्ध रहेको कुरा स्वीकार गरेका थिए र सीईओ पदबाट राजीनामा दिएका थिए। तर, दुई हप्ताभन्दा कम समयमै सञ्चालक समितिले उनलाई पुनः पदमा बहाल गर्‍यो।

‘सीबीएस न्युज’ को रिपोर्टलाई मान्ने हो भने ट्रम्प प्रशासनले एनभिडियालाई जेन्सेन हुआङ न्याय विभागको कुनै पनि अनुसन्धानको दायरामा नरहेको आश्वासन दिएको थियो, यद्यपि यो राहत एलिस हुआङका लागि भने होइन।

मेगास्पिड र सुपर माइक्रो कम्प्युटरविरुद्ध एफबीआई र न्याय विभागको आपराधिक अनुसन्धान अझै जारी छ। अब आगामी साता जेन्सेन हुआङ अमेरिकी संसद् (क्यापिटल हिल) मा सांसदहरूका प्रश्नको जवाफ दिन उपस्थित हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *