सुनखानीमा बाढी पस्दा ९ जनाको मृत्यु, फसेका १७ जनाको खोजी हुँदै

DC Nepalडिसी नेपाल
१० मंसिर २०८३ १३:०३

काठमाडौं । इन्डोनेसियास्थित एक अवैध सुन खानीमा बाढी पस्दा ९ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूले बुधबार खानीभित्रबाट केही शवहरू बाहिर निकालेका छन् भने भित्र फसेका अन्य १७ जना खानी मजदुरहरूको खोजी कार्य जारी रहेको छ।

प्राप्त जानकारीअनुसार वेस्ट जाभा प्रान्तको बोगोर रिजेन्सीमा सोमबार अबेर राति मजदुरहरूले सुनका कणहरू उत्खनन गरिरहेका थिए। सोही क्रममा भारी वर्षाका कारण नजिकैको सिसेरेउ नदीमा बाढी आउँदा नदीको पानी खानीको सुरुङभित्र पसेको थियो।

वेस्ट जाभा प्रहरी प्रवक्ता हेन्ड्रा रोचमावनले सुरुङमा बाढीको पानी भरिनुअगावै उत्खनन भइरहेको एक भागबाट ११ जना खानी मजदुरहरू बाहिर निस्कन सफल भएको जानकारी दिएका छन्।

घटनाको जानकारी पाएलगत्तै स्थानीय खानी मजदुर तथा बासिन्दाहरूले पनि उद्धारको प्रयास गरेका थिए। मजदुरहरूले अवैध रूपमा उत्खनन गरिरहेका कारण अधिकारीहरूलाई तत्काल यसको सूचना दिइएको थिएन।

बोगोर विपद् न्यूनीकरण निकायका आपत्कालीन तथा लजिस्टिक्स प्रमुख मोहम्मद एडम हमदानीले भने, “मुख्य समस्या के थियो भने कसैले पनि यसको जानकारी दिएनन् र अवैध काम भएकाले कोही पनि यसबारे रिपोर्ट गर्न चाहँदैनथे।”

हेन्ड्रा रोचमावनका अनुसार बाढी पसेको करिब १६ घण्टापछि मात्र प्रहरीलाई खानी मजदुरहरू भित्र फसेको पहिलो खबर प्राप्त भएको थियो।

स्थानीय अधिकारी, अग्निनियन्त्रक र अन्य निकायहरूको प्रारम्भिक मूल्याङ्कनपछि सरकारी खानी कम्पनी ‘पीटी अन्ताम’ ले बुधबार मध्यरातलगत्तै जकार्ता खोज तथा उद्धार निकायलाई औपचारिक प्रतिवेदन पठाएको थियो, जसपश्चात् बृहत् स्तरमा उद्धार अभियान सुरु गरिएको हो।

जकार्ता खोज तथा उद्धार निकायकी प्रमुख डेसियाना कार्तिका बहारीले खाल्डोभित्र भरिएको पानी अझै नघटेको र त्यसलाई बाहिर निकाल्न निकै समय लाग्ने देखिएको बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *